दर खाँदा मिलाउनुपर्ने खानाको सन्तुलन
भाद्र कृष्ण तृतीयाको दिन मनाइने तीजको दिन महिलाहरू पानी पनि नपिई व्रत बस्ने गर्छन् । त्यसैको ठीक एक दिनअघि शरीर अस्वस्थ हुने गरी धेरै चिल्लो र पिरो खाने चलन छ । तर त्यसरी असन्तुलित र कम पौष्टिक खाना खान नहुने पोषणविद्हरूको मत छ ।
पोषणविद् डा. अरुणा उप्रेती स्वास्थ्यलाई ख्याल गरेर आफूले नियमित खाने खानालाई नै दरको रूपमा खानुपर्ने बताउँछिन् । उनी भोलि भोकै बस्नु छ भनेर पेटमा अपच हुने गरी खाना खाँदा शरीरलाई त्यसले फाइदा नगर्ने उनी बताउँछिन् ।
तीजको अघिल्लो दिन खाइने दरमा भोलिपल्ट व्रत बस्नका लागि आवश्यक पर्ने पौष्टिक तत्व पुग्नेगरी खाना खानु पर्ने हो । हिन्दु संस्कृतिमा हुने ८४ व्यञ्जनको मान्यताले पनि थोरैमात्रामा धेरै परिकार खानुपर्नेमा जोड दिएको छ ।
हामीले दैनिक जीवनमा प्रयोग गर्ने खानाहरूबाट भिन्दाभिन्दै पोषक तत्व पाउने गरिन्छ । जस्तो बिहानबेलुका खाने चामल होस् या गहुँको पिठोमा कार्बाेहाइड्रेड पाइन्छ । हरेक नेपालीको तरकारीमा आलु अनिवार्यजस्तै हुन्छ । यसमा पनि कार्बाेहाइड्रेडको मात्रा पाइन्छ । अन्य कन्दमूलजन्य खाद्य सामग्रीमा पनि कार्बोहाइड्रेड पाउन सकिन्छ ।
त्यस्तै, मांसाहारीको लागि मासु, माछा, अण्डा आदि प्रोटिनको मुख्य स्रोत हो । शाकाहारीहरूले प्रोटिनको लागि नै दूधका परिकार खाने गर्छन् । विभिन्न प्रजातिका गेडागुडी पनि प्रोटिनको मुख्य स्रोत हुन् ।
अर्काेतर्फ हाम्रो शरीरलाई चाहिने चिल्लो पदार्थका लागि बोसो, तेल, घिउ आदि खाने गरिन्छ । तेलहन खाद्य पदार्थ जस्तै भटमास, बदाम, ओखर, तोरी आदिबाट पनि हाम्रो शरीरलाई चाहिने चिल्लो पदार्थ पाउन सकिन्छ ।
तर पोषणविद् उप्रेती भने खाना खाने बेलामा पोषक तत्व कति मात्रामा छ भनेर अनावश्यक चासो दिन नहुने उनी बताउँछन् । उप्रेती हामीले नियमित खाने दाल भात तरकारी र अचारमा नै हामीलाई चाहिने पौष्टिक आहार हुने भएकोले यति मात्रामा कार्बाेहाइड्रेड र यति मात्रामा प्रोटिन युक्त खाना खाने भनेर अनावश्यक चिन्ता लिन नहुने उनी बताउँछन् ।
हरियो तरकारी, फलफूल र गेडागुडीले शरीरमा भिटामिनको मात्रा समेत बढाउने गर्छ । भिटामिन र खनिज तत्वहरू मात्रात्मक रूपमा शरीरको लागि कम आवश्यक हुन्छ । यद्यपि शरीरको लागि यी पदार्थहरू अत्यावश्यक पनि छन् ।
बिहीबार दर खाने दिन । दर खाँदा पनि खाद्यान्नको मात्रा र परिकारको विषयमा ध्यान दिनुपर्ने हुन्छ । दर खाँदा बढी चिल्लो, पिरो र मसलायुक्त खाना खानु हुँदैन । पोषणविद्हरूका अनुसार अघिल्लो दिन बढी चिल्लो पिरो खाना खाने र भोलिपल्ट दिनभरि निर्जला व्रत बस्दा त्यसले शरीरमा विभिन्न समस्या सिर्जना हुने भएकोले अघिल्लो दिन सन्तुलित खाना खानुपर्नेमा उनीहरुले जोड दिए ।
अर्काेतर्फ हिन्दु संस्कार अनुसार तीजमा पानी पनि नपिई व्रत बस्ने चलन छ । समयसमयमा व्रत बस्नु स्वास्थ्यको लागि समेत उपयुक्त मानिन्छ । तर पानी पनि नपिई बस्ने व्रतभन्दा पानी र फलफूल खाएर बस्ने व्रतले स्वास्थ्यलाई फाइदा गर्ने पोषणविद्हरू बताउँछन् ।
अघिल्लो दिन कार्बाेहाइड्रेड, प्रोटिन र भिटामिन युक्त खाना खाने र तीजको दिन दही, फलफूल, हरियो सलाद आदिको खाने हो भने स्वास्थ्यमा कुनै समस्या नआउने जानकारहरू बताउँछन् ।
त्यस्तै, दर खाने दिन बजारमा पाइने विभिन्न रंगका मिठाइ पनि खाने चलन छ । तर यस्तो केमिकलयुक्त खानेकुराले अपचको समस्या सिर्जना हुने उनीहरूको मत छ ।
No comments: